Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

मनोरन्जन

बल्ड्याङ खानुको मजा

- नरनाथ लुइँटेल

‘एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका कुरा खुइलिए, अहिलेका कुरा फैलिए । ठक्कर र ठेसको कुरै नगरौं, अहिले त मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक बुद्धि नपलाउने भइसक्यो । मानिसको जात कहलाएको यो दुईखुट्टे जनावरलाई अहिले संसारको सबैभन्दा बढी बुद्धि भएको सर्वश्रेष्ठ प्राणी भनिन्छ तर यसैको हालत यस्तो छ । झन् प्रवृत्ति कस्तो छ भने बल्ड्याङ्ग खाएर तीन कान्ला तल खँदारिएको छ, कसैले “होइन तँ त लडिस् कि क्या हो” भन्यो भने अररो–अररो हुँदै जुरूक्क उठ्छ र धूलो टक्टक्याउँदै उल्टै भन्छ– धत्तेरिका म कहाँ लडेको हुँ र ? म जस्तो जवाँमर्द मान्छे पनि कहीँ लड्छ ? बरु तपाईंको आँखा र चस्माको पावर घटबढ भएको हो कि ? परेन फसाद, सोध्ने मनुवाले पो लाजले रातो मुख लगाउनु पर्दछ ।

बल्ड्याङ्ग खाँदाको स्वाद काँचो टिम्मुर खाँदाको भन्दा ओठ–मुख बढी पर्पराउने खालको हुन्छ । मनस्थितिको कुरै नगरौं, अनुहारले नै सबै कुरा बताइरहेको देखिन्छ । बल्ड्याङ्ग अरूअरू प्राणीले पनि खान्छन् तर मान्छेले खाने बल्ड्याङ्गको भने भिन्नै महत्व रहेको छ । फेरि मान्छेहरू पनि हेर्नाका न छन् । कोही लाटा हुन्छन्, कोही हुन्छन् बित्पातका बाठा । जिब्रो छुराजस्तै लाग्ने भए पनि बुद्धिले अधिक गोज्याङ्ग्रो मानिस विलकुल लाटो हो । तर बोलीमा बक नफुटे पनि कोही हुन्छन् मन, ज्ञान र बुद्धिले अत्यन्त चलाख । यस्तालाई लाटो भन्नु मुर्खताको परिचय दिनु हो । उनीहरू हामीले भनिआएका ‘बाठा’हरू भन्दा धेरै गुना बढी बाठा हुन्छन् ।

यी लाटा र बाठाहरूकै प्रसङ्गमा यसो पनि भनिन्छ– ‘लाटो लड्छ एक बल्ड्याङ्ग, बाठो लड्छ तीन बल्ड्याङ्ग’ । लाटा मान्छे र बाठा मान्छेका बीच पनि यत्रो विधि अन्तर कसरी परेको हो कुन्नि ? लाटाले समेत एकपल्ट लडेपछि कुरो बुभ्mदछ– यसो गर्दा, यस ठाउँमा, यसरी लडिने रहेछ । यो सोझो कुरो बुझेपछि लाटो मान्छेको दिमागले सोझै अर्थ लगाउँछ र फेरिफेरि लड्नबाट आफूलाई जोगाउँछ । तर जो बित्पातको बाठो छ, अरु लाटा–गाँडालाई बाटो देखाउँने अगुवामा दरिएको छ, सबका सबलाई नलडी हिँड्न सिकाउँछ, त्यही मान्छे डङ्ग्रङ्ग लड्छ त्यो पनि एक बल्ड्याङ्ग होइन तीन–तीन बल्ड्याङ्ग । यस किसिमको बल्ड्याङ्ग लरतरो र चानचुने हुनै सक्दैन । आखिर बाठाहरू नै बढी बल्ड्याङ्ग खान्छन् कसरी ? खोतलेर जवाफ खोज्नुपर्ने प्रश्न नै यही हो ।

एकजना मनुवा हुनुहुन्छ यही देशका । प्रजातान्त्रिक आन्दोलनमा तीस वर्ष खर्लप्प खर्चिंदा खर्चिंदै उहाँका केश सेताम्य फुल्न थालेका छन् । छयालीसपछि प्रजातान्त्रिक परिपाटीको केन्द्रमै घुमिरहनु भएका उहाँ जस्ता सक्कली प्रजातन्त्रवादी नेताको त्याग तपस्या अरू जौडेजौडेहरूका निम्ति अनुकरणीय मानिदै आएको छ । उहाँ बाठाहरू मध्येका पनि अधिक बाठा हुनुहुन्छ । त्यसैले त होला उहाँ संसदीय प्रजातन्त्रका पछिल्ला आमुखमा समेत आरूढ हुनुभएको छ । वर्तमानमा प्रजातन्त्र समाप्त भइसक्यो भन्नेहरू पनि छन् । कोही भने कको प्रजातन्त्र मात्रै श्र लोकतन्त्र आइसक्यो भन्नेहरू पनि छन् । यो विवादपूर्ण विषयमा प्रवेश गरिरहनु परोइन ।

उहाँ जस्तो अधिक बाठो मान्छे पनि यसपाली बेस्वादसँग डङ्ग्रङ्गै लड्नु भयो । लडेर बल्ड्याङ्ग खाँदै तीन कान्ला तल पछारिएको मान्छे देखेर कोही मरी मरी हाँस्न थाले, कोही औधी माया पलाएर रून थाले । सहानुभूति व्यक्त गर्दै छेउमा पुगेका आफन्तजनलाई बकाइदा उहाँले हपार्नु भयो । लडेर लबेदा सुरूवालमा लागेको धूलो र अनुहारमा पोतिएको हिलो टकटक्याउनु भयो र खरो स्वर एवम् दह्रो शैलीमा घोषणा गर्नुभयो— कसैले मलाई तीन बल्ड्याङ्ग खाएर तीन कान्ला तल झरेको देख्यो होला, तर यो त भ्रम हो, विशुद्ध भ्रम । म लडेकै होइन बरू बडेको हुँ । तीन कान्ला तल झरेकै होइन बरू तीन कान्ला माथि चढेको हुँ । बल्ड्याङ्ग खाएपछि प्रायः मान्छेको मनोविज्ञान बदलिन्छ । यही मनोवैज्ञानिक परिवर्तनका कारण उसले आफूलाई लडे पनि बढेको देख्न थाल्छ । झरे पनि उक्लेको महसुस गर्छ । शर्मनाक हारलाई पनि जीतैजीतको स्वर्ग देख्छ र गालीका कोर्रालाई पनि तालीका पर्रा सम्झन थाल्छ । देख्नेका आँखा फुटे सुन्नेका सही । पाहा पछारिए झैं पछारिएर अररो भएको शरीर देख्नेहरूका आँखाले केवल भ्रम मात्र देखेका हुन् । उहाँ तीन कान्ला तल झरेको, पछारिएको बल्ड्याङ्ग खाएको यो सब केही होइन त्यस्तो देख्नु नै भ्रम हो ।

त्यसो त बल्ड्याङ्ग खानेहरू उहाँ मात्रै कहाँ हो र भन्या । उदाहरणमा उहाँ नै अगाडि पर्नुभयो । हाम्रो जस्तो देशमा बल्ड्याङ्ग खानेहरूको हूल नै छ । बल्ड्याङ्ग खाएर आफ्नो हुर्मत खुस्किए पनि अर्कालाई त्यस्तै बल्ड्याङ्ग ख्वाउन मौका ढुकेर बस्नेहरूको बथान नै छ । मौका पर्नासाथ उसले उसलाई पछारेको छ, दाउ हेरीहेरी उसले उसलाई लतारेको छ । मसलाका मरिचहरू र ऋतुका शरदहरू एक समयका गतिला बल्ड्याङ्गवीरहरू मानिन्थे । समयले कति चाँडो प्वाँख फेरेको हो कुन्नि । अहिले उनीहरूको फूर्तिफार्ती राम्रैसँग प्रकट भइरहेको छ । पर्दाभित्रका पुरुषार्थी बल्ड्याङ्गवाजहरू पर्दाभित्रैबाट कतिलाई बल्ड्याङ्ग ख्वाएर तीन कान्ला तल पछारिरहेका छन् भन्ने कुरा पनि कुनै न कुनै रूपमा प्रकट भइरहेकै छ ।

साँच्चै भन्ने हो भने हाम्रो इतिहास नै बल्ड्याङ्गै बल्ड्याङ्गको विवरण हो । एउटाले अर्कोलाई चीत नख्वाई सत्ताको भ¥याङ्ग उक्लिनै सकिन्न । मल्लकालीन इतिहास हेरौं वा राणाकालीन इतिहास पढौं । पृथ्वीनारायण शाहको एकीकरण अभियानको कुरा गरौं वा श्री ५ त्रिभुवनको दिल्ली गमन प्रसङ्ग सम्झौं । सबै बल्ड्याङ्ग खाने र बल्ड्याङ्ग ख्वाउने क्रियाकलापका वृतान्त बाहेक केही होइनन् । हाम्रा पूर्खाहरू बल्ड्याङ्ग खाएरै वीर कहलाएका हुन् । अर्काको देशमा गएर, अर्कैको निम्ति आफूले बल्ड्याङ्ग खाएर बहादुरीको पगरी लगाएका हुन् । जुन देशको इतिहास बल्ड्याङ्गको आडमा अडिएको छ, त्यो देशको वर्तमान बल्ड्याङ्गविहीन हुनै सक्दैन ।

अहिले हाम्रो राजनीति बल्ड्याङ्गग्रस्त बनेको छ । हाम्रो अर्थ–राजनीतिले बल्ड्याङ्ग खाएको छ । हाम्रो विकासले बल्ड्याङ्ग खाँदैछ । हाम्रो शिक्षा नीति र शैक्षिक गतिविधिले स्वादसँग बल्ड्याङ्ग खाइरहेको छ । भर्खरै एस्.एल्.सी.को परिणाम प्रकाशित भयो, ठूलो प्रतिशत परीक्षार्थीले बल्ड्याङ्ग खाए । यो मुलुकका हजारौं होनहार नागरिकहरूले बल्ड्याङ्ग खाएपछि मात्रै बुद्धिको बिर्को अलिकति खुल्यो र वार्ता शुरू भएथ्यो, त्यही वार्ताले पनि बल्ड्याङ्ग खाँदैछ । हाम्रो माटो नै यस्तै छ त हामी के गरूँ, धेरैले बल्ड्याङ्ग खाएर प्राप्त भएको हाम्रो लोकतन्त्रले बल्ड्याङ्ग खाँदैछ । बल्ड्याङ्ग खानु हाम्रो शौभाग्य हो । बल्ड्याङ्ग ख्वाउनु हाम्रो सभ्यता हो । स्वादमा जीरे खुसार्नी जतिकै पीरो होस् वा काँचो टिम्मुर जतिकै पर्पराउँदो होस् हामीले बल्ड्याङ्ग खानै पर्दछ । बल्ड्याङ्ग खानु हाम्रो धर्म हो, हाम्रो आफ्नै मौलिक संस्कृति हो । बल्ड्याङ्ग खानु र बल्ड्याङ्ग ख्वाउनु नै हाम्रो परम पौरख हो । त्यसैले आउनुस् हामी बल्ड्याङ्ग खादै बाँचौं र बल्ड्याङ्ग ख्वाउँदै हासौं ।
narnath@gmail.com
कलङ्की, काठमाडौँ

 

असफल नेताको सफल घोषणा

- डा.रामकुमार पाँडे
हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल घोषणा गर्न गइरहेको छु । सफललाई असफल पार्नमा सघाउने हरूवा चरूवा पानी मरूवालाई अघाउने गरी बधाइ ज्ञापन गर्दैछु । असफललाई सफल पार्ने कार्यक्रम अगाडि ल्याएको छु ।

मन्त्रालयको व्यापक हेरफेर गरेर द्वन्द्व, बन्द र गन्ध त्रि-मन्त्रालय खडा गरी यसलाई अझ अघि बढाउने र एकापसमा लडाउने महामन्त्री नियक्त गरिएको छ । द्वन्द मन्त्रालयको कार्यक्षेत्र जोइपोइको झगडादेखि दलले फलमा बल गर्ने भागबण्डामा डण्डा चलाउने अधिकार दिइएको छ । मेरो गोरूको बार्‍है टक्का एवं झुट बोल्ने छुटका अतिरिक्त लूट खुलेआम गर्ने व्यवस्था मिलाइएको छ ।

बन्द मन्त्रीले बाटोबन्द, नेपाल बन्ददेखि ढोका बन्द र नियोजनका बन्ध्याकरणको जिम्मा दिँदै चित्त नबुझेमा आँखाबन्द गर्ने तर मुख बन्द नगर्ने निर्णय गरिएको छ । बन्ध व्यापार एवं कमिशन नआउने काम बन्द र आफूलाई नोक्सान पर्ने परिबन्दमा बन्दोबस्ता मिलाउनु एकमतले सहमत गर्ने निर्णय भएको छ ।

गन्ध मन्त्रालयले काठमाडौँको बिगे्रको वायु देखि अपचले छोडिने अमानवायु जम्मा गरी कुमन्त्रीहरूको ग्याँस आपूर्ति हुनेछ । गन्ध बन्द भएमा नगरका वासिन्दा बाँच्न नसक्ने भएकाले जतिसक्दो फोहर थुपार्ने काम सम्बद्ध मन्त्रालयलाई प्रदान गरिएको छ । बुद्धिजीवीहरूको दिमागमा गोवर भरिँदै गएकामा खुशी प्रकट गर्दै यसलाई मलका रूपमा प्रयोग गरी दुनियाँलाई दङ्गदास पारिनेछ । दिमागमा गोबर भरिँदै गएका सांसद, मन्त्रीदेखि नेताहरूको टाउका माथि थप जीवजन्तुको लिदी हालेर लिदिनै बढाउने प्रविधिबाट देशमा हाइसन्चो हुने हुँदा कुकुर, मुसा, गधा, भालु आदिको सङ्ख्या बढाउन बल गरिनेछ ।

अब उप्रान्त प्रशासनलाई बलियो बनाउन एउटा सचिवबाट काम नचल्ने देखिँदा अनुकूल र प्रतिकुल दुई दुईजना सचिव, निर्देशकदेखि हेडमास्टर र ढोल पिट्ने बेन मास्टर खटाइने र काम पटाइने काम हुनेछ । एउटाले भन्या नटेरे अर्काले गर्न बाध्य पारिनेछ । घूसको भत्ता व्यवस्था त्रिपक्षीय वार्ताबाट मिलाइनेछ । डबल नियुक्ति पाउनेले नियुक्ति पत्र पाउनेबित्तिकै कार्यालयको कुर्सीमा दौडेर पहिला पुग्नेलाई कुर्सीमा पदस्थापन गरिनेछ ।

देशमा वन मासिँदै गएकाले हरियो देख्न नपाइने गुनासोलाई सरल उपायबाट जनतालाई राहत दिन हरियो चस्मा वितरण गरिनेछ । यसको प्राथमिकता सम्बद्ध जिम्मेवार संस्थालाई अग्राधिकार प्राप्त हुनेछ ।

देशमा शान्ति भएन र असफल भयौँ भन्नेहरूका लागि अति उत्तम उपाय अपनाइनेछ । जो शान्ति माग्न आउँछ उसलाई श्रीमतीको नाम फेरेर शान्ति राखि शान्तिसँग बस्न बाध्य पारिनेछ । अविवाहितलाई शान्तिका लागि एकान्तमा बस्न, उठ्न सुत्न सुरक्षा प्रदान गरी स्वतन्त्र रूपमा लठ्याउने औषधि प्रयोगमा पनि छुट हुनेछ । बाँकीलाई शान्तिवाटिका स्वरूप सार्वजनिक स्थलमै खुला विचरण आचरण गराइनेछ । शान्ति सुरक्षाको जिम्मा चोरलाई साँचो सुम्पने नीति अख्तियार गरी जेल परेका र पर्ने आचरण गरेकालाई बाहिर छोडिनेछ । शान्ति सुरक्षामा लागेकालाई चोरको जिम्मेवारी सुम्पिइनेछ । दल दलका बुद्धिजीवीले आˆनो बुद्धि प्रयोग गर्न नसकेको असक्त अवस्था सुधारका लागि बेवकूफलभन्दा दलदलले नै हण्डी स्वरूप बाँड्न बाध्य पारिनेछ । यसरी ख्वाइने र पाइने हण्डी नेतादेखि कार्यकर्तासम्म आयकर लाग्नेछैन । बरू कर आय हुनेछ ।

सबै सफललाई असफल र असफललाई सफल पार्न मन्त्री र मन्त्रालय हेरफेर र फेरहेर गरिनेछ । विद्युत्मा विरोध बढेकाले 'लोडसेडिङ मन्त्री नियुक्ति गरिएको छ । पानी खुवाउन नसक्ने पानीमरूवा जलमन्त्रीलाई मलस्रोत मन्त्री बनाइएको छ । मान्छे मर्नेभन्दा मार्ने बढेकाले मलामी मन्त्री नियुक्त गरिएको छ । देशमा सजिलो आम्दानीको स्रोत विचार गरी लूटपाटलाई सङ्गठित रूप दिनुका अतिरिक्त सुरक्षा निकायबाटै चोरलाई सुरक्षा दिने व्यवस्था सुरू गरिएको छ । सबै व्यापार फेल भएकाले बढी आम्दानी भित्र्याउने लागू औषध व्यापारमा प्रोत्साहन गर्न सबै सम्बद्ध मन्त्रीले लागू औषधि खाएको अभिनय गर्न सिकाइनेछ । बेकारी बढेकाले त्यसलाई रोजगारी स्वरूप राजनीतिक नियुक्ति पाउने टिके हाकिम, प्राज्ञ, कवि, कलाकार सबैलाई विभेद विना आ-आˆनो क्षत्रेमा भ्यासेक्टोमी कार्य गर्न खटाइनेछ । नगद दिने सम्भावना भएमा बडेमानको सम्मान भिडाइने छ । दलका नेताहरूमा कुकुरको स्वभाव देखिएकाले रेविज कन्ट्रोलका लागि पशु चिकित्सालय बढाउने निर्णय जनतालाई सुम्पनु पर्ने र प्रधानमन्त्री चुन्न कठिन परेकाले उपाय पत्ता लगाउनेलाई नै प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण पुरस्कार स्वरूप प्रदान गरिनेछ । यसरी जनताले असफलमा सफल नेतालाई अबको आन्दोलनमा सहिदको सङ्ख्या घटाउने गरी नेता नेतालाई नै घाँटीमा इजार कस्ने र हात खुट्टामा फलामको चूरा बस्ने गरी बाटा दोबाटामा जिउँदो सहिद स्वरूप प्रदर्शन गरी असफललाई सफल गरिनेछ । नेताको कठालो समाउने काम नेतालाई नै सुम्पिएको छ ।

असफल नेताको सफल घोषणामा विश्वास नलागे आन्दोलनमा भाग नलिने जनता जमातलाई सोध्नु होला । यो असफल नेतालाई सफल बनाउने घोषणा हो । नसंशय ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...